Wednesday, August 26, 2015

कैलालीको टीकापुर आक्रमणको योजना को खुलाशा !

कैलालीको टीकापुर आक्रमणको योजना को खुलाशा !

कैलालीको टीकापुरमा आयोजित थरुहट संघर्ष समितिको सभामा ‘नबोलाइएका अतिथि’ बनेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस सभासद अमरेशकुमार सिंहले दिएको उत्तेजक भाषण को नतिजा भन्न नमिले पनि घिउ मा आगो थप्ने काम थियो ।
आन्दोलनरत थारु समुदायलाई उत्तेजित पार्न उनीहरुले ‘घरेलु हतियार लिएर जाइलाग्न’ उक्साए ।
प्रदेश सीमांकनको विषयलाई लिएर पूर्वी तथा मध्यतराईमा आन्दोलन नउठेपछि ‘थारुलाई उचाल्ने’ रणनीतिसहित सुदुरपश्चिम पुगेका उनीहरुको यस्तो उक्साहटले ‘थरुहट प्रदेश’ माग गर्दै आन्दोलनरत समूहलाई दोधारमा पार्‍यो ।
थरुहट आन्दोलनमा सहभागीहरुमा दोधार हुनुको कारण– तीनैजना नेताले साम्प्रदायिक नारा लगाएर अर्को समुदायलाई लखेट्न उक्साएका थिए ।
केही दिन उनीहरुले के गर्ने भन्ने भेउ पाएनन् । त्यही क्रममा ४ भदौ दिउँसो टीकापुर नजिकैको दुर्गौलीमा ‘अखण्ड सुदुरपश्चिम’ पक्षधरले निकालेको जुलुस र थरुहट आन्दोलनकारीबीच जम्काभेट भयो र दुवै एकअर्कामाथि जाइलागे ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गर्‍यो । दुवैपक्षका आन्दोलनकारी तितरबितर भएपछि स्थिति साम्य भएको ठानियो । तर,  ७ भदौमा टीकापुरमा भएको भयानक घटना योजना ।
सुरक्षा स्रोतले प्राप्त गरेका सूचनाहरुले त्यही साँझ टीकापुर आक्रमणको योजना बनेको हल्ला सुनियको छ  ।
बैठकमा थरुहट संघर्ष समितिका कैलाली संयोजक रेशम चौधरी, एमाओवादीका वीरमान चौधरी र फुलराम चौधरी तथा बैद्य माओवादीका नेप बहादुर चौधरी लगायत सहभागी रहेको स्रोतको दाबी छ ।
वीरमान एमाओवादीबाट निर्वाचित पूर्वसभासद तथा फुलराम गत संविधानसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए ।
नेपबहादुर पूर्व माओवादी लडाकूका डिभिजन सहायक कमाण्डर एवम् बैद्य माओवादीका कैलाली इन्चार्ज हुन् ।
घटना भइसकेपछि मात्र यसको भेउ पाएको बताउने एक उच्च सुरक्षा अधिकारी भन्छन्, “हाम्रो इन्टेलिजेन्स यसमा चुक्यो ।”
यति भयानक तयारीबारे बेखबर जस्तै रहेका सुरक्षा निकायलाई भुलभुलैयामा पार्ने योजना पनि त्यतिबेलै तयार भएको स्रोतको दाबी छ ।
पर्सिपल्ट धनगढीस्थित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठको उपस्थितिमा जिल्लाका प्रमुख राजनीतिक दल तथा आन्दोलनरत दलहरुबीच बैठक बस्यो ।
बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा ‘अखण्ड सुदुरपश्चिम’ र ‘थरुहट आन्दोलन’का क्रममा उछृंखल गतिविधि नगर्ने, संयमित हुने र आन्दोलन शान्तिपूर्ण बनाउने सहमति भएको उल्लेख छ ।
विज्ञप्तिमा प्रजिअ श्रेष्ठ, कांग्रेस, एमाले, संघीय समाजवादी फोरम, आदिवासी जनजाति महासंघका प्रतिनिधिसँगै वीरमान र नेपबहादुरले पनि हस्ताक्षर गरेका छन् ।
“यस्तो सहमति भइसकेपछि आन्दोलन उग्र हुँदैन र अप्रिय अबस्था पनि निम्तिँदैन भन्नेमा सुरक्षा निकाय ढुक्क भएजस्तो देखियो, सम्भावित खतराप्रति सचेत पनि भएनन्” घटनापछि यसको सुक्ष्म अनुसन्धान गरिरहेका एक सैनिक अधिकारीले भने, “सुरक्षा निकायलाई सरप्राइज दिन पो सहमतिको योजना बनाइएको रहेछ भन्ने देखिएको छ ।”
प्रहरीमाथि जुन किसिमबाट आक्रमण भएको छ, त्यो हेर्दा घटना योजनाबद्ध रुपमै गराइएको पुष्टि भएको सुरक्षा अधिकारीहरु बताउँछन् ।
“प्रहरीलाई नियन्त्रणमा लिएर यति निर्ममतापूर्वक हत्या गरिएको छ कि, यस्तो कृत्य हिंजो यसैगरी हत्यामा संलग्न रहँदै आएका व्यक्तिले मात्र गर्न सक्छन्” एक उच्च प्रहरी अधिकृतले भने, “हिंजो पनि हत्यामा संलग्न रहँदै आएका र सैन्य तालिमप्राप्त व्यक्तिबाहेक अरुले यो गर्नै सक्दैनन् ।”
आक्रमणबाट ज्यान जोगाउन भागेका सशस्त्र प्रहरीका एसपी लक्ष्मणबहादुर सिंहले त थरुहटको आन्दोलनमा पूर्वमाओवादी लडाकु नै संलग्न रहेको बताएका छन् ।
 उनले भनेका छन्, “केही पूर्वलडाकू दुई दिनअघि आसपासका जिल्लाबाट कैलाली प्रवेश गरेको सूचना हामीले पाएका थियौं, तर आन्दोलन शान्तिपूर्ण हुने विश्वासमा हामीले बल प्रयोग नगर्ने नीति लियौं । हामीले गोली बर्साएको भए धेरैको ज्यान जाने थियो ।”
पूर्वदेखि पश्चिमसम्म मधेशीमोर्चा र थरुहट संघर्ष समितिले गरेको आन्दोलनमा बैद्य माओवादीले घोषित रुपमै सहयोग गर्दै आएको छ भने अग्रपंक्तिमा नदेखिएपनि विप्लव माओवादीका कार्यकर्ता समेत त्यसमा संलग्न रहेको सुरक्षा अधिकारीहरुको दाबी छ । एक उच्च सुरक्षा अधिकारीले भने, “आन्दोलनका क्रममा आफ्ना मुद्दा अर्कैले कब्जा गर्ने र भोटब्यांक गुम्ने खतराले कार्यकर्तालाई खुला छाडिएको देखिन्छ ।”
केही दिन अघिमात्र एमाओवादी नेता बाबुराम भट्टराईले ‘जनताको हितमा संविधान नबन्ने खतरा देखिएकाले सडकमा आगो बाल्न’ विभिन्न समूहलाई सार्वजनिक रुपमै उक्साएका थिए ।
आन्दोलन थरुहट आन्दोलनकारीको नियन्त्रणमा नरहेको यसका नेताहरुले नै सार्वजनिक रुपमा बताइसकेका छन् ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिब एवम् कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सभासद रामजनम चौधरीले भने, “आन्दोलनमा घुसपैठ भएकाले यति अप्रिय घटना भयो ।”
यस्तो घटनाको तयारीबारेको सूचना सुरक्षा निकायहरुलाई पहिल्यै किन भएन ? गुप्तचर अधिकारीहरु भने सूचना नभएको भन्ने आरोपको प्रतिवाद गर्छन् ।
“सूचना थियो, यस्ता घटना हुनसक्छन् भनेर गृहमन्त्री र प्रधानमन्त्रीसम्मलाई सूचित गरिएको छ” स्रोत भन्छ, “सबै कुरालाई हल्का ढंगले लिइयो, आवश्यक सजगता अपनाउने काम भएन, त्यसैले यस्तो घटना हुनपुग्यो ।”
१० हजारभन्दा बढीको जुलुस टीकापुर छेउमै आइपुग्दासम्म भेउ नपाएको भएपनि हातहतियारसहितको जुलुस देखिसकेपछि पनि सजग नहुनु सुरक्षामा हदैसम्मको लापरबाही भएको गुप्तचर अधिकारीहरु बताउँछन् ।
“हातहातमा घरेलु हतियार बोकेर आएको हजारौंको भीड देख्दादेख्दै लट्ठी बोकेका प्रहरीलाई मात्र किन तैनाथ गरियो, एसएसपी आफै भीडमा किन गए, कुरा गर्दा एउटा दुरी किन कायम गरिएन, ब्याकफोर्समा रहेको प्रहरीले एसएसपीमाथि आक्रमण भइसकेपछि पनि गोली किन चलाएन, आक्रमण भइसकेपछि सशस्त्र प्रहरीले किन सहयोग गरेन ?” एक अधिकारीले भने, “आखैसामु त्यस्तो अबस्था देख्दादेख्दै केही नगरेपछि इन्टेलिजेन्सले थाहा पायो वा पाएन भन्नुको के अर्थ ? अब लापरबाही भयो भनेर कहाँकहाँ खोज्ने ?”
रनभुल्ल दलहरु
टीकापुर लगायत स्थिति संवेदनशील बनेका तराइका जिल्लामा दंगाग्रस्त क्षेत्र घोषणा गरेर स्थानीय प्रशासन ऐन अन्तर्गत् सेनालाई समेत परिचालन गरिएको छ ।
तर, आन्दोलन उग्र बन्दै गएका जिल्लाहरुमा स्थिति सामान्य भइसकेको छैन । ८ भदौमा रौतहटमा प्रहरीको गोलीबाट एक आन्दोलनकारीको मृत्यु भएको छ भने विभिन्न जिल्लामा स्थिति नियन्त्रण गर्न प्रशासनले कफ्र्यु र निषेधित क्षेत्र घोषणा गरेको छ ।
टीकापुरमा लगातारको कर्फ्यूबीच आन्दोलनको नेतृत्व गरिरहेका रेशम चौधरी र कैलाली–१ का सभासद जनक चौधरीको घरमा आगजनी र तोडफोड गरिएको छ ।
अनियन्त्रित भीडले थारु समुदायका घरहरुमा आक्रमण गर्नथालेपछि गाउँहरुमा पनि त्रास बढेको छ ।
अवस्था सामान्य बनाउन र सामाजिक सद्भाव खलबलिन नदिन प्रमुख दलहरुदेखि आन्दोलनकारीबाट समेत पहल नभएको टिप्पणी भइरहेको छ ।
८ भदौमा बसेको प्रमुख चार दलको बैठकले आन्दोलनका क्रममा उठेका मुद्दाहरुको सम्बोधन गर्न संवाद प्रक्रिया अघि बढाउने र संविधान निर्माण कार्य पनि नरोक्ने निर्णय गरेको छ ।

No comments:

Post a Comment