Monday, August 24, 2015

१५ वर्षीया सुनिता राई १९ वर्षीय दीपेन्द्र राईसँग प्रेम गाँसिएपछि यतिखेर जिल्ला अस्पताल खोटाङको श्ययामा मृत्युसँग लडिरहेकी ।

खोटाङ, बुइपा–४ की १५ वर्षीया सुनिता राई
महेन्द्रोद्वय उच्च मावि हलेसी ८ मा अध्ययरत सुनिता मङ्गलटार–९ का १९ वर्षीय दीपेन्द्र राईसँग प्रेम गाँसिएपछि यतिखेर जिल्ला अस्पताल खोटाङको श्ययामा मृत्युसँग लडिरहेकी छन् ।
प्रेम सम्बन्ध बसेपछि सुनिता गर्भवती भइन् ।आफ्नो पेटमा हुर्कदै गरेको करिब तीन महिनाको गर्भ खोल्न प्रेमी ले आग्रह गरे । सँगै मर्ने र सँगै बाँच्ने बाचा गरेको प्रेमीको आग्रहलाई अस्वीकार गर्न नसकेर सुनिताले प्रेमीले दिएको गर्भ फाल्ने औषधि खाइन् ।
औषधि खाएपछि अत्यधिक रक्तस्राव भयो र सुनिता मृत्युसँग लडिरहेकी हुन् । साउन ३२ गते जिल्ला अस्पताल खोटाङमा भर्ना भएकी सुनिताको अवस्था गम्भीर रहेको अस्पताल प्रमुख माधवप्रसाद लम्सालले बताउनुभयो ।
लम्सालका अनुसार अत्यधिक रक्तस्रावका कारण सुनिताको दुबै मिर्गौलाले काम गर्न छाडेको छ । भर्ना भएको चार दिनपछि अस्पतालले थप उपचारका लागि पठाएपनि उडान अवरुद्ध र परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सुविधा सम्पन्न ठाउँमा उपचारमा लैजान सकेका छैनन् ।
सुनितालाई माया जालमा फसाएर गर्भ फाल्ने औषधि खुवाउने दीपेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । दीपेन्द्रलाई कारबाही गर्नुको साटो सुनिताको उपचारमा भएको सम्पूर्ण खर्च बेहोराउने पक्षमा सुनिताको आफन्त लागिपरेका छन् ।
सुनिताका काका हिमाल राईका अनुसार आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च खेपाउनुका साथै सुनितालाई जिम्मा लगाउने तयारी गरिएको छ ।
पक्राउ परेका दीपेन्द्रले सुनिताको उपचार खर्च बेहोर्नुका साथै विवाह गर्ने बताएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुनिताको कम उमेर भएकाले सहमतिमा गर्भपतन गर्ने औषधि खुवाएको दीपेन्द्रले स्वीकारेका छन्, त्यसैले पीडित सुनिताको आफन्तको कुरा बुझेर कारबाही अगाडि बढाइनेछ ।”
त्यसो त जिल्लामा भएको यो प्रतिनिधि घटना मात्र हो । पछिल्लो समय जिल्लामा यस्ता थुप्रै घटना भएका छन् । गाउँमा गर्भपतनका लागि औषधि सेवन गर्ने र पार नलागेपछि जिल्ला अस्पताल आउने गरेको प्रमुख चिकित्सक लम्सालको भनाइ छ ।
“गाउँमा गर्भपतनका लागि जाथाभावी औषधि सेवन गर्ने र पार नलागेपछि अस्पताल आउनेको सङ्ख्या मासिक पाँच/छजना हुन्छ”, लम्सालले भन्नुभयो, “अस्पतालमा वैधानिक तवरले सुरक्षित गर्भपतन गर्ने सुविधा हुँदाहुँदै जथाभावी गर्भपतन गराउनाले ज्यान जोखिममा परेको छ ।” उहाँले थप्नुभयो, “अस्पतालमा गोपनीयता नहुने भन्ने भ्रम छ, त्यो निराधार हो, यसका लागि गाउँगाउँमा सूचना दिनु जरुरी छ ।”
अस्पताल स्रोतका अनुसार पछिल्लो समय सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको पाइएको छ । गत आर्थिक वर्ष २०७१÷७२ मा मात्रै १२९ जनाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स उर्मिला राईले बताउनुभयो । अस्पतालमा भन्दा बाहिरी क्लिनिकमा गर्भपतन गराउनेको सङ्ख्या दोब्बर रहेको स्रोतको दाबी छ । यसमा स्वास्थ्यकर्मीकै मिलेमतोमा अनधिकृत क्लिनिकमा गर्भपतन हुने गरेको जनाइएको छ ।
स्रोतका अनुसार निजी क्लिनिक सञ्चालकले एकपटक गर्भपतन गरिदिएबापत रु ५० हजारसम्ममा लिएको तथ्य खुलेको छ । जिल्लामा १९ वटा निजी क्लिनिक सञ्चालनमा छन् । प्रत्येक क्लिनिकबाट प्रतिदिन पाँच÷छवटा गर्भ रहन नदिने इकोन बिक्री हुने गरेको क्लिनिक सञ्चालकले बताएका छन् ।

No comments:

Post a Comment